छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । इलाम नगरपालिका–१ देउमाई खोलास्थित सडकमा मे.१ त२५३० नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बिर्तामोड नगरपालिका–६ बस्ने २४ वर्षीय उमेश दर्जी रहेका छन् । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएकोमा उपचारपछि डिस्चार्ज भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

यसैगरी मोरङको रंगेली नगरपालिका–९ फर्सडागीस्थित सडकमा ना.१ क ७२१८ नम्बरको टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ सखुवाथान बस्ने ७० वर्षीया मुस्नी राजवशी रहेकी छिन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको रंगेली अस्पताल हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

साथै पर्साको बिन्दबासीनी गाउँपालिका–३ झौवास्थित सडकमा ना.५ त ४३२५ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक जना पैदलयात्रीको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने करिमन दासको छोरा ११ वर्षीय राम सुरत दास रहेका छन् । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।