
काठमाडौं । करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ सिर्सिहवास्थित बाटोको नाली बनाउनको लागि मिक्सर मेसिन चलाउने क्रममा बिजुलीको तारमा छोई करेन्ट लागेर बुधबार दिउँसो घटनास्थलमै एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिजयनगर गाउँपालिका–५ जोगिनिया बस्ने २४ वर्षीय अलाउजिन धुनिया रहेका छन् । करेन्ट लागेर घाइते भएका अन्य ७ जना स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका हो ।
साथै बाँकेको नेपालगंज उपमहानगरपालिका–१६ जयसपुर बस्ने अज्जन सैयादको छोरा १ वर्षीय जयन्त सैयादको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा खेलिरहेको अवस्थामा मोटरमा प्रयोग गरिएको नाङगो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगजंमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी दाङको राजपुर गाउँपालिका–७ राटाकास बस्ने भक्त बहादुर विकको छोरा १३ वर्षीय तामुयल विकको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरमा मोटरको पानीले नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।