छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । गोरखाको शहिदलखन गाउँपालिका–३ सिलिङस्थित सडकमा सोही गाउँपालिका–३ कोटगाउँबाट पोखरीडाँडामा जन्ती गएर फर्किदै गरेको प्र.३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जीप सडकबाट करिब ५० मिटर तल भिरमा खसेर गएराति दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जीपमा सवार गोरखा शहिदलखन गाउँपालिका–५ पोखरीडाँडा बस्ने १९ वर्षीय प्रबिन थापासहित ५ जना रहका छन् । दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको आबुखैरेनी हस्पिटल आबुखैरेनी तनहुँमा उपचार भइरहेको छ भने १ जनालाई उपचारको लागि सीएमसी अस्पताल चितवनतर्फ पठाइएको छ ।

यसैगरी झापाको कमल गाउँपालिका–३ केराधापस्थित सडकमा मे.१ ख १५१८ नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने कमल थापाको छोरा ५ वर्षीय जनम थापा रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल दमकमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सडकमा बीआर ०५ पीए ९६५२ नम्बरको स्कारपियोले ना.५६ पा ५६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–२ मुसर्निमाई बस्ने ५० वर्षीय बुद्धिलाल भुर्तेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको अलपाईन हस्पिटल सिमरामा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि वीरगंजतर्फ पठाईएको छ । हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैसाथ मोरङको सुनदरहरैचा नगरपालिका–५ बाँसबारीस्थित सडकमा प्र १–०२–०५० प ८०८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय सिवनाथ अचार्य रहेका छन् । उनको गएराति घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।