छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ

दियो पोस्ट  

कैलाली । विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहनगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ २ ग्राम ७ सय ६० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय योगेन्द्र बहादुर देउवा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी बिहीबार राति पक्राउ गरेको हो ।
साथै कैलालीकै गोदावरी नगरपालिका–४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ २ सय ६०मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–३ बस्ने २० वर्षीय आशिष भण्डारी र सोही ठाउँ बस्ने २३ वर्षीय राजेन्द्र बोहरा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको सु.प.प्र.०१००९ प ४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी बिहीबार राति पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ९९ मिलिग्रामसहित २ जना रहेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१८ डेरा गरी बस्ने १८ वर्षीय किशोर र २४ वर्षीय प्रशान्त कुँवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी बिहीबार राति पक्राउ गरेको हो ।

यसैसाथ झापाको झापा गाउँपालिका–४ स्थित बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम १ सय २० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ बस्ने ३८ वर्षीय अच्युत कुमार मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।