करीब २ किलो सुनसहित एक जना पक्राउ

दियो पोस्ट  

रुपन्देही । रुपन्देहीमा करिब २ किलो सुनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहबाट करीब २ किलो सुनसहित कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दाङको घोराही नगरपालिका–१० बस्ने ३१ बर्षिय हुमानन्द गिरी रहेका छन् । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बीओपी बयरघाट रुपन्देहीबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नंम्बरको मारुती सुजुकी कारलाई जाँच गर्ने क्रममा गियर बक्समा फल्स बटम बनाएर लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा इँट्टा आकारको २ थान सुनजस्तो देखिने धातुसहित फेला पारी शनिबार पक्राउ गरेको हो । रुपन्देहीस्थित सिद्धार्थनगर सुन चाँदी व्यवसायी संघले सुन भएको प्रमाणित गरेको र उक्त सुनको तौल १ किलो ९ सय ६५ ग्राम ३ मिलि ग्राम र बजार मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ ४५ पैसा रहेको छ ।

नियन्त्रणमा लिइएका गिरीलाई कार र बरामद सुनसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।