काठमाडौं । सवारीसाधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मकवानपुरका हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलस्थित सडकमा प्र.३–००१ ख ०८५१ नम्बरको टिपरले बा.प्र.०३–००२ प ९०४४ नम्बरको स्कुटर र बा.६३ प ३१२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१ जरुवा टोल बस्ने २५ वर्षीय सुमित कपाली रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाग्लुङको काठेखोला गाउँपालिका(–३ धम्जा देउरालीस्थित सडकमा ग.१ ज ७१९० नम्बरको बोलेरो जीप शनिबार राति दुर्घटना हुँदा जीपमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ धम्जा बस्ने १९ वर्षीय बिजय विक रहेका छन् । बोलेरो जीप सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य २ जनाको धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार जीप चालकको खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।