जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका–१३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २७ हजार ७ सय २० रूपैयाँ र ३ बुक ताससहित फेला पारी शनिबार दिउँसो पक्राउ गरेको हो ।

साथै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बस्ने सिन्धपाल्चोक बाह्रबिसे घर भएकी ३८ वर्षीया छायाँ देबी गुरुङको होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप दोरम्भा घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ४८ वर्षीय हिरा बहादुर तामाङसहित ७ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीटोलीले उनीहरूलाई नगद २० हजार ७ सय ९० रूपैयाँ, १ हजार ६ सय भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।