काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा झापा घर भएका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरूङ रहेका छन्।
उनीहरू नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए। दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको काठमाडौंका प्रवक्ता एसएसपी सीताराम रिजालले जानकारी दिएको हो । पछि उनीहरूसँगै रङ लगाउन गएका अर्को युवकले दुई जनालाई इनारमा डुबेको देखेपछि प्रहरीलाई बताए ।
एसएसपी रिजालका अनुसार अहिले एकजनाको शव इनारबाट निकालिसकिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको छ। इनार गहिरो र अप्ठ्यारो भएको कारणले गर्दा पनि शव निकाल्न समय लागेको उनले बताए।