छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ केजी ७ सय ४० ग्राम, टर्किस एयरलाईन्सको व्याग ट्यागसहितको बोर्डिङ पास २ थान, २ हजार ५ सय भारतीय रुपियाँ, २ हजार ३ सय ९० यूरो, २ सय ६० पाउण्ड स्टर्लिङ र मोबाइल ३ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय डेनिस कुसेरेवी रहेका छन् । टर्किस एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट स्तानबुल हुँदै जुरिच स्वीटजरल्याण्ड प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध र नगदसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले फेला पारी सोमबार बिहान उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीबाट मोल्दोभा र रोमानियाको राहदानी बाहक फेला पारेको छ ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब १४ केजीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश जिल्ला बलिया गरवार बिसुकिया बस्ने ३४ वर्षीय हनुमान विंद र उनकै श्रीमती ३५ वर्षीया सर्मिला मण्डल रहेका छन् । विशेष सूचनाका आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको
प्रहरी टोलीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी सोमबार बिहान पक्राउ गरेको हो ।

साथै मकवानपुरकै हेटौंडा उपमहानगरपालिका–८ कमानेबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ २५ ग्राम, तौल गर्ने मेसिन १ थान, नगद ५ हजार रुपैयाँ र मोबाइल ५ थानसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय बिशाल रावत, १८ वर्षीय किशोर र सोही उपमहानगरपालिका–१० निउरेनी बस्ने ३२ वर्षीय बिमल भोलन रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी सोमबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।