छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । महोत्तरीको सम्सी गाउँपालिका–७ पुलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–१३ बस्ने १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँ बस्तीबाट नियन्त्रित लागूऔषध ओनरेस ३८ बोतलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१४ मयुरधाप बस्ने ३५ वर्षीय अर्पण रिमाल रहेका छन् । अस्थाई प्रहरी पोष्ट मयुरधापबाट खटिएको प्रहरी टोलीले ना.६ प २३२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी सोमबार साँझ पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

साथै कैलालीको टिकापुर नगरपालिका–२ अस्नेरिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका–५ बस्ने २० वर्षीय बिशाल चौधरी र सोही नगरपालिका–२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडडुल गरिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी सोमबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।