छुट्टाछुट्टै ठाँउमा करेन्ट लागेर ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर  ३ जनाको मृत्यु भएको छ । स्याङ्जाको विरुवा गाउँपालिका–७ बलेवमा आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दल बहादुर गुरुङकी छोरी १० वर्षीया गीता गुरुङ रहेकी छिन् । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी बर्दियाको मधुवन नगरपालिका–१ कैलाशी गाउँमा आफ्नै दाजुको घरमा विद्युतको लाईन तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने १९ वर्षीय सुदिप थारु रहेका छन् । करेन्ट लागेर गम्भिर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै रूपन्देहीको गैडहवा गाउँपालिका–४ पोहवामा आफ्नै घरमा रहेको फलामको पाईपमा छुँदा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने २८ वर्षीया उमिना पासि रहेकी छिन् । करेन्ट लागेर गम्भिर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।