छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषसहित ७ जना पक्राउ परेका छन् । धनकुटामा अवैध लागूऔषध गाँजा १ केजी, स्पास्पेन ४ हजार ८ सय ५० क्याप्सुल र ट्रामोल ४ हजार ८ सय ५० क्याप्सुलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको नगरपालिका–९ बेलहारा घर भई हाल सोही नगरपालिका–७ डेरा गरी बस्ने २४ वर्षीय सुनिल श्रेष्ठसहित ४ जना रहेका छन् । श्रेष्ठले आफ्नो कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा  उक्त लागूऔषधसहित उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

यसैगरी जुम्लाको चन्दननाथ नगरपालिका–५ कार्कीवाडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–२ बस्ने २२ वर्षीय मदन भण्डारी रहेका छन् । भण्डारीले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषधसहित मंगलबार साँझ पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–३ ऐरिचोकस्थित आचार्य चिया पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–९ लाटिकोईली बस्ने २५ वर्षीय देबु भण्डारी रहेका छन् । पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित मंगलबार राति पक्राउ गरेको हो ।

साथै पर्साको बहुदरमाई नगरपालिका–४ जसौली चाईनिज पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विरगंज महानगरपालिका–२६ सुगौलिबिर्ता बस्ने ५७ कृष्ण मुरारी पटेल रहेका छन् । प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरी टोलीले साइकलमा आएका उनलाई उक्त गाँजासहित मंगलबार साँझ पक्राउ गरेको हो ।

साथै मोरङको बुढिगंगा गाउँपालिका–४ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ३८ केजी बुधबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल चालकले जेब्रा झोला र पछाडि बोकेको भिर्ने झोला फाली फरार भएका थिए । उनको साथमा रहेको उक्त झोला जाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।