कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

दियो पोस्ट  

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१७ बस्ने ३३ वर्षीय सूर्य बहादुर थोकर रहेका छन् । पीडित महिलालाई थोकरले २०६८ असोज २६ गते राति पीडितकै घरमा गई पालैपालो बलात्कार गरी धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए । उक्त घटनापछि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरको २०७८ वैशाख ५ गतेको फैसलाले ज्यान मारेको तर्फ २० वर्ष, ज्यान मार्ने षडयन्त्र गरेतर्फ १२ वर्ष, जबरजस्ती करणी गरेतर्फ ७ वर्ष र सामूहिक रुपमा जबरजस्ती करणी गरेतर्फ ५ वर्ष गरी जम्मा ४४ वर्ष कैद सजाय ठहर भई फरार भएका थिए । फरार भएका थोकरलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उदयपुर त्रियुगा नगरपालिका–१२ गाईघाटबाट आइतबार पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा पेश गरिएको थियो । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाइएको छ ।

सिफारिस