छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित सडकमा क.प्र.०२–००१ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने ५० वर्षीया टिका सुनार रहेकी छिन् । मंगलबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बाँकेको बैजनाथ गाउँपालिका–५ दल्लिपुरस्थित सडकमा भे.१ त ९५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय शिव कुमार यादव रहेका छन् । दुर्घटनाका गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै कपिलवस्तुको बिजयनगर गाउँपालिका–६ बद्रौवरस्थित सडकमा लु.३४ प २२२२ नम्बरको मोटरसाइकल र युपि ५५ वाई २११३ नम्बरको मोटरसाइकल बुधबार राति एकआपमाको ठक्करबाट दुर्घटना हुँदा लु.३४ प २२२२ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिजयनगर गाउँपालिका–२ मधवानगर बस्ने २७ वर्षीय गिरीजा बाबु थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।