जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको विभिन्न ठाँउबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ  परेका छन् । जिल्लाको कीर्तिपुर नगरपालिका–४ दुधपोखरीस्थित ४९ वर्षीय अजित बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज बिष्टसहित ४ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २४ हजार १ सय ८५ रूपैयाँ र २ बुक ताससहित बुधबार राति पक्राउ गरेको हो ।

साथै कीर्तिपुरकै नगरपालिका–१ चाँदनी चोकस्थित माइला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–१ ट्याङलाफाट डेरा गरी बस्ने नवलपरासी मध्यबिन्दु नगरपालिका–१५ घर भएका ३३ वर्षीय नबिन शर्मा डोटेलसहित ५ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५३ हजार ४ सय ४५ रूपैयाँ र ३ बुक ताससहित बुधबार राति पक्राउ गरेको हो ।
दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।