छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सातघट्टे चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी १ सय ४० ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ओखलढुङगा रातमाटे गाउँपालिका–४ घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय अमर कुमार खत्री र सर्लाही घर भई काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया मनसुन पाण्डे रहेका छन् । अस्थायी प्रहरी विट गागलफेदीबाट खटिएको प्रहरी टोलीले प्र.३–०२–०१५ प ४४२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त गाँजा फेला पारी बुधबार राति पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ रोयल पार्टी प्यालेस अगाडिबाट अवैध लागूऔषध गाँजा १२ केजीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–१ लोथर बस्ने १७ वर्षीय र १४ वर्षीय किशोरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी बुधबार दिउँसो पक्राउ गरेको हो ।

साथै मकवानपुरकै राक्सिराङ गाउँपालिका–५ बम्कीङबाट अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु ३ केजी ४ सय ६० ग्राम र नगद ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी
गाउँपालिका–७ रमनटार बस्ने ३६ वर्षीय प्रलाद दर्जी रहेका छन् । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा.५३ प ४५३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध फेला पारी बिहीबार बिहान पक्राउ गरेको हो । मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुष को प्रहरीले खोजी गरिरहेको छ ।

साथै सिरहाको सिरहा नगरपालिका–७ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६२ ग्राम २१ मिलिग्राम र डिजिटल मेसिनसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका–२० बस्ने १९ वर्षीय सत्यनारायण कारकसहित ३ जना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी बुधबार दिउँसो पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको स.१० प ६१७७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।