छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु 

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–११ स्थित सडकमा भे.१ ख ३७५० नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ बस्ने ५० वर्षीय वाहित चिङ्गरिया रहेका छन्। दुर्घटनाबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ९ जना मध्ये अन्य ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई देउती नर्सिङ होम र २ जनालाई माया नर्सिङ होममा उपचारको लागि पठाइएको छ । प्रहरीले हाल फरार गाडी चालकको खोजी गरिरहेको छ ।

साथै सप्तरीको तिरहुत गाउँपालिका–५ मैनाकडेरीस्थित सडकमा स.७ प ७७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने मोहम्मद मजिदको छोरा १६ वर्षीय मोहम्मद महताज रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी ओखलढुंगाको लिखु गाउँपालिका–२ दाहालटारस्थित सडकमा ना.६ त ८७४६ नम्बरको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार लिखु गाउँपालिका–२ बस्ने १८ वर्षीया अप्सरा खड्का रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको रामेछापको साँघुटारस्थित मेडिकलमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई मन्थली अस्पताल रामेछाप हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौंमा पठाइएको छ ।

साथै महोत्तरीको सम्सी गाउँपालिका–४ गैडा चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनराशिस्वा नगरपालिका–४ साँदा बस्ने ४५ वर्षीय शैलेन्द्र रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो। हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी दाङको राजपुर गाउँपालिका–५ जंग्रहवास्थित सडकमा रा.६ प ८९२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ बस्ने ३४ वर्षीय तारा प्रसाद विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सबै स्थानका दुर्घटना स्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।