यार्सा टिप्न गएका स्थानीयको उपचार नपाएर धमाधम मृत्यु, प्रचण्ड सरकार मौन

दियोपोस्ट संवाददाता

मुगु । मुगुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्– ऐन बहादुर शाही ठकुरी । उनले आइतबार प्रतिनिधी सभा बैठकमा गम्भिर कुरा उठाए । ‘हिजो मात्रै मुगेको पाटनमा यार्सा टिप्न गएका सयौँ युवाहरु लेक लागेर विरामी परेको र चार जना मात्रै हिजोको मितिमा मृत्यु भएको छ । जसमा मन बहादुर बुढा, राजबहादुर साउद र सोमन बहादुर बुढाको हिजो मात्रै मृत्यु भइरहेको छ । अरु सयौँ जना पाटनमा विरामी भइरहेका छन्,’ प्रतिनिधि सभामा विशेष समय लिँदै ठकुरीले भनेका थिए,‘यसले गर्दा मृत्यु भएका मान्छेहरुको एउटा समस्या छ भने पाटनमा थप मृत्युको संभावना भएकाले नेपाल सरकारले आवश्यक औषधी र चिकित्सकको टोली पठाएर तत्काल आजै नै बाँकीको ज्यान सुरक्षाको लागि अनुरोध गर्न चाहान्छु ।’

ठकुरीले प्रतिनिधि सभामा यसरी मृत्युको मुखमा पुगेकाहरुको ज्यान बचाइदिन अनुनय गरेपनि केन्द्र सरकारले हालसम्म कुनै कदम चालेको छैन । सरकारले कर्णालीका नागरिकप्रति गरेको यो पक्षपातबाट स्वयं सांसद ठकुरी समेत सन्तुष्ट छैनन् ।

“यो विषय मैले हिजो सदनमा पनि यो विषय उठाएको थिएँ । र स्वास्थ्य मन्त्री र गृहमन्त्रीलाई पटक पटक कुरा राखँे । तर अहिलेसम्म उहाँहरुबाट समस्या समाधान हुन नसकेको अवस्था छ”, उनले दियोपोष्टसँग भने,“ घटना घटेपछि हामीले सरकारलाई सुनाउन थालेको आज ३ दिनभयो । यसरी आवाज उठाइसकेपछि त सुनुवाई हुनु पर्ने हो । भोलि विहान पनि यो विषयमा फेरि कुरा गर्छु । यदि भएन भने यो राज्यको लापरबाही हो । म त्यहाँको एउटा जनप्रतिनिधिको हैसियतले गर्नु पर्ने कर्तव्य गरिरहेको छ । तर हामीले भन्ने सरकारले सुन्ने मात्रै गरिरहेको छ ।”

मगुमा जिविकोपार्जन टार्नका लागि यार्सागुम्बा संकलन गर्न जाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्लाको कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयहरुलाई लेक लागेपछि विरामी भए । तर, उपचार नपाएर मृत्यु भइरहेको छ । गत जेठ १९ गतेदेखि मृत्यु हुनेको सख्या बढ्दै अहिले ५ पुगेको हो ।

जीविकोपार्जनका लागि यार्सा टिप्न जानु पर्ने बाध्यता त्यहाका स्थानीयलाई छ । अन्नबालीका नाममा फापर मात्रै उत्पादन हुने उक्त ठाउँमा अन्य अन्न बाली उत्पादन हुँदैन ।
घटनाको करिब एकसाता हुदाँ स्थानीय सरकार निरीह छ भने केन्द्र सरकार थाहा पाएर पनि नाटकीय रुपमा चुपचाप छ । उनीहरुको उपचार समेत हनु नसकेका कारण ज्यान गुमाउदै आएका छन् । अन्य थप विरामीहरुको उद्धारका लागि भने अहिलेसम्म कुनै कदम चालिएको छैन ।

फोनकै भरमा उपचार !

जिल्लाको कर्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीराज बुढाले मृत्यु हुनेको संख्या ५ पुगिसकेको बताए । उनका अनुसार जिल्ला अस्पताल मुगुबाट स्वास्थ्यकर्मीको टोली विरामीको उपचारका लागि सिरानचौर पुगेको छ । तर अक्सिजन सिलिन्डर लगायत अन्य औषधी सकिएकाले विरामीको उपचार गर्न सकिएको छैन । यार्सा संकलन गरिने पाटन क्षेत्रबाट उपचार भइरहेको स्थानमा पुग्न करिब ५ घण्टा पैदल हिड्नु पर्ने बुढाको भनाई छ । उनले भने, “भौगोलिक अवस्थाका पाटन क्षेत्रबाट उपचार स्थानमा आइपुग्दासम्म उनीहरुको अवस्था जटिल बनिसकेको हुन्टछ । त्यसपछि त्यहाँ पनि उनीहरुको उपचार सम्भव नभएपछि थप उपचारका लागि दुई दिन पैदल हिडेर सदरमुकाम गमगढी पुग्नु पर्ने हुन्छ ।”

पैदल हिड्दा उनीहरुको बाटोमै ज्यान जाने जोखिम हुने र त्यसका लागि केन्द्र सरकारबाट अहिलेसम्म विरामीको उद्धारका लागि कुनै पनि पहल नभएको बुढाले बताए । “माथिल्लो निकायले तत्काल औषधी स्वास्थ्य उपकरणहरु पठाएको भए मृत्यु भएका विरामीलाई बचाउन सकिन्थ्यो । यहाँ न कुनै सूचनाको पहुँच छ न त औषधीको । अस्ति ज्यान गुमाएका दुई जनाको शव ल्याने क्रममा त्यहाँ थप दुई जना सिकिस्त विरामी थिए त्यो बेला माथिबाट हेलीमार्फत ल्याउन सकेको भए बचाउन सकिन्थ्यो ।”, उनले भने,“विरामीलाई उपचारका लागि ४ दिनसम्म बोकेर लैजान उत्तिकै जोखिम छ ।”
साथै यसमा पालिकाको पनि कम्जोरी रहेको उनी बताउछन् । “उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्यमा आउने यस्ता खालका समस्यहरुबारे हामी स्थानीय स्वास्थ्यकर्मी पनि अन्जान छौं । त्यसैले तीन तहकै सरकारले स्वास्थ्यसम्बन्धि अभिमुखी तथा तालिमका कार्यक्रमहरु गरिएका छैनन् । स्थानीयहरुको सचेतना जगाउन पनि यसले सहयोग गर्ने थियो । अहिलेको अवस्थामा हामीले फोनमार्फत सुगमका केही विशेषज्ञ चिकित्सकहरुको सुझावका भरमा विरामीको उपचार गरिरहेका छौं ।”

विरामीको थप उपचारका लागि सिरानचौरबाट दैनीक जसो ३ जनालाई सदरमुकाम गमगढीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयमा रिफर गरिदै आएको छ । केही विरामीहरुलाई पनि जिल्लाबाट बाँकेलगायतका जिल्लाहरुमा रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

स्थानीय सरकार निरीह, केन्द्र सरकारले दिएन चासो

स्थानीय सरकार निरीह बनेको अवस्थामा यता केन्द्र सरकार बेखबर छ । करिब एकसाता देखि स्थानीयले उपचार नपाएर ज्यान गुमाउदा समेत राज्य भने बेवास्ता गर्दै आएको छ । स्थानीय निकायलगायतका निकायहरुले केन्द्र सरकारलाई उद्धार पहल गरेता पनि केन्द्रले चासो देखाएको छैन ।

 

सम्बन्धित खबर

सिफारिस