काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई राष्ट्रिय योजना आयोगको सचिवमा सरूवा गर्ने निर्णय गरेको श्रम मन्त्री डिपी अर्यालले जानकारी दिए। योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्याललाई उक्त पदमा सरूवा गर्ने निर्णय भएको हो।
मन्त्री अर्यालका अनुसार निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका वरिष्ठ सचिवहरूमध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो।
सरकार प्रवक्ता रेखा शर्माकाअनुसार अर्याललाई मुख्यसचिव सरहकै विशेष पद सिर्जना गरेर सरूवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो।
अर्याल भने आइतबार स्वतः मुख्यसचिव पदबाट निलम्बनमा परेका थिए। उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ।
सम्बन्धित समाचार
मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय, के हो आरोप ?
मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न अख्तियारको टोली विशेष अदालत (तस्विरहरु)
मुख्यसचिव सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ करोड ६७ लाख बिगो मागदाबी