
काठमाडौं । सरकारले म्यानपावर व्यवसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको पाइएको छ । सरकारले स्वार्थ बाझिने गरी म्यानपावर व्यवसायी अबुसुफ्यान खानलाई साउदी अरबको राजदूतमा सिफारिस गरेको खुलेको हो । उनले इसान ओभरसिज नामक म्यानपावर कम्पनी चलाउदै आएका थिए ।
यही विषयमा आज नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यावसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले स्वार्थ बाझिने गरी म्यानपावर व्यावसायी अबु सुफ्यान खानलाई साउदी अरबको राजदूतमा सिफारिस गरेको बताएका हुन् ।
गत शुक्रबार सरकारले साउदी अरबको राजदूतमा खानसहित बिभिन्न आठ देशका लागि राजदूत सिफारिस गरेको थियो । त्यसमध्ये खानको सिफारिस स्वार्थ बाझिने गरी भएको सांसद यादवको दाबी छ ।
‘नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदी अरब हो । उनी (खान)गत जेठसम्म साउदी अरबमा श्रमिक पठाउने इसान ओभरसिजका सञ्चालक थिए । उनी लामो समयदेखि साउदी अरबमा (श्रमिक पठाउने) काम गर्दै आएका छन्’ यादवले भने, ‘जुन देशमा श्रमिक पठाउँदै आएको छ, जहाँ कारोबार भइरहेको छ त्यही देशको राजदूतको जिम्मेवारी दिँदा सोझै स्वार्थ बाझिने गर्छ ।’
सांसद यादवले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ मा राजदूत नियुक्तिमा विदेशी मुलुकको स्थायी, अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्ने योग्यता तोकिएको पनि स्मरण गरे ।