
काठमाडौं । प्राइम कमर्सियल बैंकका निर्देशक ठगी अभियोगमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले निर्देशक नरेन्द्र बज्राचार्यलाई पक्राउ गरेको हो । न्युरोड, महाबौद्ध र ओटुको होल्सेल मार्केट कलंकीस्थित एनबिटिसी महलमा सार्ने भन्दै ५ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा बज्राचार्यसहित ६ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार कलंकी डेभलपर्स र मिलाल्याण्ड डेभलपमेन्ट प्रा.लीका संचालक समिति अध्यक्ष बज्राचार्य सहित ६ जनाले कलंकीस्थित कलंकी ट्रेड सेन्टरका सटर उपलब्ध गराइदिने र लालपुर्जासमेत दिने भन्दै १३ करोड ७३ लाख ५३ हजार २ सय ५६ रुपैयाँ ठगी गरेको जाहेरी हालसम्म प्रहरीमा परेको छ ।
पीडितहरु ड. विमला भण्डारीसहितको जाहेरीले बज्राचार्यसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ५१ वर्षीय राजु महर्जन, राजेश कृष्ण श्रेष्ठ, निरन्जन कुमार श्रेष्ठ, चिरञ्जिवी पौडेल र शान्ति रमण पंगेनी रहेका छन् ।
पक्राउ परेका बज्राचार्य इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका सीईओ पनि हुन् ।