
सन्धिखर्क । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख बेद प्रसाद खरेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरु बिरोधमा उत्रिएका छन् । प्रमुख जिल्ला अधिकारी खरेलको कार्यशैली र कर्मचारीलाई गर्ने ब्यबहारको राम्रो नभएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रजिअ खरेलको सेवा प्रवाह र कार्यसम्पादनमा समेत त्रुटी रहेको कर्मचारीहरुको आरोप छ । ‘उहाँको कार्यशैलीका कारण हामी कर्मचारीहरुलाई काम गर्ने वातावरण छैन । कर्मचारीलाई हप्की दप्की गर्ने, अनावश्यक टिप्पणी गर्ने खालको ब्यवहार पहिलेदेखि नै थियो । उहाँका कारण अफिसमा काम गर्ने वाताबरण नै छैन । त्यसैले हामी आन्दोलनमा उत्रिनु परेको हो,’ उनले बताए ।
कर्मचारीलाई मात्र होइन, सेवाग्राहीलाई समेत प्रजिअ खरेलले अनावश्यक दुख दिने गरेको आरोप छ । केही दिन अघि नागरिकतामा ‘थर’ संसोधन गर्न जाँदा प्रजिअ खरेलले दुर्ब्यवहार गरेको एक सेवाग्राहीले बताए । उनले भने, ‘म आमाको नागरिकतामा थर परिवर्तन गर्न गएको थिए । मैले प्रजिअलाई उहाँकै कार्यकक्षमा भेटेर आफ्नो समस्या सुनाए । उहाँले हुँदैन भन्दै कड्किनु भयो । एकपटक बनिसकेको नागरिकतामा कसरी थर परिवर्तन हुन्छ? भन्दै उहाँले मलाई हप्काउनु भयो ।’
कानुन मै थर परिवर्तन गर्ने प्रावधान भए पनि प्रजिअ खरेलले सेवाग्राहीको काम गर्न आनाकानी गर्ने गरेको उनको गुनासो छ । कानुन र नियमपूर्वक हुने काममा समेत प्रजिअ खरेलले हुँदैन भन्दै फर्काइदिने गरेको उनी बताउँछन् । ‘थर संसोधन सम्वन्धि कानुमै भएको बिषयमा पनि उहाँले काम गर्न खोज्नु भएन । एक पटक बनिसकेको नागरिकता पनि कहीँ परिवर्तन हुन्छ? भनी मेरो फोटो खिचेर आफ्नो मोवाईलमा राख्नु भयो र सुरक्षा गार्ड प्रयोग गरेर मलाई उहाँको कार्यकक्षबाट बाहिर निकाल्नु भयो,’ उनले भने ।
प्रजिअ खरेलले आफ्नै कार्यकक्षमा आफुलाई अपमान गरेको उनको गुनासो छ ।
सेवाग्राहीको ब्यापक गुनासो बढ्न थाले पछि कर्मचारीर प्रजिअ खरेलबीच मनमुटाव सिर्जना भएको थियो । प्रजिअ खरेलको कार्यशैलीको बिरोधस्वरुप आज करिव ३ घण्टा काम रोकेर कर्मचारीहरु आन्दोलित भएका थिए ।
कर्मचारी र प्रमुख जिल्ला अधिकारी खरेलबिच छलफल भएपछि सहमति भएको र कामकाज सुचारु भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यरत कर्मचारीले जनाएका छन ।