
धादिङ, २३ जेठ । प्रहरीको खोजी सुचीमा रहेका गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ पक्राउ परेका छन् ।
धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट भण्डारी पक्राउ परेको उच्च स्रोतले जनाएको छ । बुधबार साँझ भण्डारीको सातबाट हातहतियार समेत बरामद गरेको प्रहरी उच्च स्रोतको दाबी छ ।
धादिङको गजुरी २ मलेखु बजारबाट माथि ताल्ती जाने बाटोमा स्थानिय जनतालाई हतियार देखाउँदै कुटपीट गरिरहेको सुचनाको आधारमा प्रहरी टोली त्यस तर्फ प्रस्थान गरेको थियो ।
प्रहरीलाई देखेपछि भण्डारीको समुहले प्रहरीमाथि नै प्रहार गरेको र प्रहरीको गाडीको सिसा समेत फुटाएको पाइएको छ ।
नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका भण्डारी विगत लामो समयदेखि गुण्डागर्दीमा समलग्न दिए ।
चर्चित गुण्डा नाइके स्वर्गिय दिनेश अधिकारी चरीमाथि गोली प्रहार गरेर केही समय पक्राउ परेका भण्डारी अपराध महासाखाको वारेन्ट सुचीमा समेत थिए ।
हाल जेल जीवन विताइरहेका गुण्डा नाइके समिरमान बस्नेतको योजनामा दिनेश अधिकारी चरिमाथि गोली प्रहार भएको थियो । समिरमान बस्नेत र राधे भण्डारीको आफन्त समेत हुन् । चरीलाई इन्काउन्टर गर्ने तत्कालिन महानगरीय प्रहरी अपराध महासाखाका डिएसपी कुमुद ढुङ्गेल र बस्नेत आफन्त हुन् । डिएसपी ढुङगेल र बस्नेतबीच पटक पटक कुराकानी हुने गरेको तथ्य सार्वजनिक भएपछि ढुङ्गेल यतिबेला निलम्बनमा परेका छन् ।
‘प्रहरीसँग मुठभेड समेत गरिरहेको थियो । राधे समुहको हतियार प्रहारबाट प्रहरीलाई समेत क्षेती पुगेको थियो,’ एक प्रत्यक्षदर्शीले भने,‘गुण्डागर्दी गरेर स्थानियलाई धम्की दिन आएका थिए ।
भण्डारीले स्थानियलाई धम्काउनका लागि गुण्डा मुभिलाइज गरेको समेत प्रहरीको निष्कर्ष छ ।