
दियोपोष्ट संवाददाता
धादिङ, २३ जेठ । केहिदिन अघि जिल्ला अस्पताल धादिङले एक गर्भवति महिलालाई थप उपचारका लागि काठमाडौैं स्थित थापाथलीमा रहेको परोपकार प्रसुती तथा स्त्री अस्पताल रिफर गर्यो । विरामीको आफन्तले अस्पतालाम रहेको एम्बुलेन्स खोजी गरे ।
जिल्ला अस्पतालमा रहेका कुनै पनि एम्बुलेन्स तयार नभएपछि पृथ्वीराजमार्गबाट एम्बुलेन्स मगाइयो । करिब १ घण्टा कुरेपछि एम्बुलेन्स आयो । धादिङबाट काठमाडौं पुग्न २ घण्टा लाग्छ ।
तर, प्रसव पीडामा रहेकी ती गर्भवति महिलाले १ घण्टा एम्बुलेन्स कुरिरहनु पर्यो । केही समय ढिला भएको भए उनको ज्यानै जानसक्ने खतरा थियो ।
जिल्ला अस्पताल अन्तर्गत रहेका एम्बुलेन्समा मनोमानी हुँदा अहिले धादिङ अस्पतालमा आउने विरामीहरुले पृथ्वीराजमार्गमा रहेका एम्बुलेन्सको भर पर्नु परेको छ ।
केही दिनअघि जिल्ला अस्पताल धादिङले सञ्चालन गरेको बा २ झा २२७७ नम्बरको एम्बुलेन्स निलकण्ठ नगरपालिका साङकोषमा दुर्घटनाग्रस्त भयो ।
जिल्ला अस्पताल स्रोतका अनुसार एम्बुलेन्स चालक प्रेम बहादुर अधिकारीका भतिजले सिक्न खोज्दा उक्त एम्बुलेन्स दुर्घटनामा परेको थियो ।

लकडाउनको समय गत वैशाख १७ गते चालकका भतिजले सिक्न खोज्दा भएको एम्बुलेन्स दुर्घटनाको घटनालाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले गुपचुप राखेका छन् ।
तर, यस्तो गम्भिर लापरबाहीको घटनाले अस्पताल भित्रै भुषको आगो जस्तै विरोध हुन थालेको छ ।
यता जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटीको स्वामित्व रहेको बा ९ च ६५५८ नम्बरको एम्बुलेन्स पनि जिल्ला वन कार्यालयमै क्वारेन्टाइनमा आराम गरेर बसिरहेको छ ।

कोरोना व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी आसमान तामाङको संयोजकत्वमा बसेको बैठकले रेडक्रसको एम्बुलेन्सलाई कोरोना मैत्री बनाउने निर्णय गरेको थियो ।
यता जिल्ला स्थित एम्बुलेन्स चालक संघका अध्यक्ष भेषराज ठकुरीले रेडक्रसकै एम्बुलेनस मासिक ५ हजार रुपैयाँ भाडामा प्रयोग गरेको खुलेको छ ।
धादिङबाट काठमाडौंसम्म विरामी एउटै टिप गरेको ५ हजारदेखि ६ हजारसम्म असुल्ने ठकुरीले रेडक्रसलाई भने मासिक ५ हजार बुझाउँथे । रेडक्रसको एम्बुलेन्स व्यक्तिले कसको स्वार्थको आधारमा भाडामा पाए भन्ने विषय खुल्दै जाला ।

त्यस्तै जिल्लाकै ज्वालामुखि गाउँपालिका २ मैदी स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एक एम्बुलेन्स सुभलाभ पोलिक्लिनिकले भाडामा चलाएको छ । तर यी एम्बुलेन्सहरु विरामी अस्पताल पुर्याउँन होइन पोलिक्लिनिकका औषधी र आफन्त नातागोता ओसार पोसारमा समलग्न छन् ।
रुडेक नेपाल नामक संस्थाको एनजिओ काठमाडौंमा बेचबिखन भइसकेको छ । भिम बहादुर स्मिृति एम्बुलेन्स भने ५ लाख रुपैयाँमा विक्री भएको स्रोतले जनाएको छ ।
यहाँ अस्पतालको एम्बुलेन्समा ठूलाबडाको धन्दा चलेको छ,’ जिल्ला अस्पताल नजिकैका एक स्थानिय भन्छन्,‘यस्तो अत्यावश्यक सेवामाथि ब्रम्हलुट चलिरहँदा जिल्लाका नेतादेखि प्रमुख जिल्ला अधिकारी मौन छन् । यो त अति नै भयो ।’