
काठमाडौं, २५ जेठ । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु राणा अध्यक्ष रहेको युलेन्स स्कुलले लकडाउनको समयमा सञ्चालन गरेको भर्चुअल कक्षाको नाममा रकम अशुली आतंक चलाएको खुलेको छ ।
युलेन्स एजुकेशन फाउन्डेशन नामक संस्थाबाट सञ्चालित युलेन्स स्कुलले लकडाउन र कोरोना महामारीमा पनि अभिभावकको ढाड सेक्ने काम गरेको पाइएको हो ।
शिक्षा तथा प्रविधि मन्त्रालयले लकडाउनको समयमा विद्यालय खोल्न नपाइने र विद्यार्थीका अभिभावसँग कुनैपनि बहानामा शुल्क लिन रोकेको थियो ।

अमेरिकी बैंक स्ट्रिट स्कुल अफ एजुकेशनको सहकार्यमा सन् २००६ देखि ललितपुरको खुमलटारमा सञ्चालित उक्त विद्यालयले अभिभावकसँग चर्को शुल्क असुलेको पाइएको छ । यातयात खर्च बाहेक प्रति विद्यार्थी ४५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ । अभिभावकलाई युलेन्स स्कुलले म्यासेजमै बिल पठाउने गरेको छ ।
बिल अनुसार ट्युसन शुल्क छ हजार पाँच सय, सूचना प्रविधि तीन हजार पाँच सय र श्रव्यदृश्य तीन हजार पाँच सय रूपैयाँ उल्लेख छ । प्रशिक्षण सामाग्रीवापत चार हजार, स्टेशनरी चार हजार, थिएटर तीन हजार, वातानुकूलित (एसी) तीन हजार पाँच सय, फिल्ड ट्रिप्स तीन हजार, खाना दश हजार र रचनात्मक क्रियाकलाप चार हजार गरी ४५ हजार रूपैयाँको बील बनाएर पठाएको देखिन्छ ।
त्यति मात्रै होइन युलेन्स स्कुलले बन्दाबन्दीकै बीचमा पनि चैत्र महिनाको पुरै शुल्क अभिभावकसँग असुलेको छ । वैशाखदेखि असारसम्मको अवधिमा भने २० प्रतिशत शुल्क घटाएर असुली गर्न बिल पठाइएको छ ।
विद्यार्थीबाट उठाएको एमरजन्सी फन्डको पैसाबाट युलेन्स विद्यालयमा कार्यरत शिक्षक शिक्षीकालाई ल्याप्टप खरिद गरिएको समेत पाइएको छ ।
दैनिक डेढ घण्टा मात्रै अनलाइन कक्षा लिएर मासिक ४५ हजार रुपैयाँ माग गरिएको छ । अभिभावकहरुले सामुहिक रुपमा युलेन्सका सञ्चालक विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् ।
‘यस्तो महामारीको बेलापनि हामीलाई युलेन्ले ठगी गरेको छ,’ ती अभिभावकले भने,‘हामी यो ठगीधन्दा विरद्ध सामुहिक रुपमा मुद्दा हाल्छौँ ।’