
घरबेटी माया घिमिरे र उनको घर
बुटवल । प्रदेश नं. ५ को अस्थाई राजधानी हो बुटवल । तर राजधानी बुटवलमै जातिय विभेदको घटना भने बढ्दो क्रममा छ । बुटबलको देबिनगरस्थित वडा नं. ११, अग्नीपथमा घर भएकी माया घिमिरेले सोही स्थानकी मिठु परियारलाई दलित भन्दै कोठा दिन अस्विकार गरेपछि पीडित परियारले आफु अन्यायमा परेको बताएकी छिन् ।
“म यही जेठ २५ गते घिमिरेको घरमा कोठा खाली छ भन्ने थाहा पाएर गएकी थिएँ । मलाई कोठा मन पर्यो । कोठाको मोलतोल भएपछि म बस्ने पक्का भयो । अन्त्यमा उहाँले मेरो जात सोध्नु भयो । मैले परियार थर बताएपछि उहाँले सिधै कोठा दिन्न भन्नु भयो,” पीडित परियारले भनिन्, “जातले के फरक पर्छ र ? म पनि त तपाई जस्तै मान्छे हो, कृपया मलाई कोठा दिनुस् भन्दा, उहाँले ‘मेरो श्रीमानले तल्लो जातलाई किन कोठा दिएको भनेर मलाई गाली गर्नुहुन्छ, सासुआमा आउनु हुन्छ उहाँको लागि पनि मैले कोठा दिन मिल्दैन’ भन्नु भयो, मैले केही भन्न सकिन ।”
घिमिरेका श्रीमान भारतीय सैनिकमा जागिरे छन् । दुई छोरासहित उनी अग्नी पथमा बस्दै आएकी छिन् ।

उनको घरको माथिल्लो तलामा २ वटा र भुईतलामा २ वटा कोठा खाली छन् । लकडाउन सुरु भएयता उनका दुबै तलाका कोठा खाली भएका थिए ।
देशमा जातीय विभेद उन्मुलन भएको कागजी घोषणा भएको १४ वर्ष बितिसक्दा पनि जातीय बिभेदका यस्ता घटना हुनु निन्दनीय भएको बताउँछन् संबिधान सभाका सभासद तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी । पीडितले न्याय पाउनु पर्ने र पीडकलाई प्रचलित कानुन अनुरुप कारवाही हुनु पर्ने उनको भनाई छ ।
आफुले न्याय नपाएसम्म कानुनी लडाईँ लडिरहने पीडित परियारको भनाई छ । उनी भन्छिन्,-“मैले दलित भएकै कारण त्यो घरमा कोठा पाइन, यो घर दलितको लागि बर्जित रहेछ । त्यसैले म जस्तै कोठा माग्न जाने अर्को दलित अपमानित भएर फर्किन नपरोस भनेर मैले सुचना समेत टाँसेर आएकी छु । ताकी सुचना हेरेरै उ गेटबाटै फर्कियोस, घर भित्र सम्म पुगेर कोही दलित अपमानित भै फर्किन नपरोस ।” जातका आधारमा विभेद गर्ने घरबेटिको घरमा आफुले सुचना टाँसेको बताउँदै आफुले जातीय बिभेदको सांकेतिक बिरोध गरेको उनले जानकारी दिइन् ।
जातीय बिभेदका बारेमा बुझ्न खोज्दा पीडक घिमिरेले फोन उठाइनन् । घटनाका बारेमा बुझ्न भन्दै पीडित र अधिकारकर्मी उनकै घरमा पुगेका थिए । तर, उनी घरमा भेटिइनन् ।।
