
काठमाडौँ । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते भएको घटना जातीय विभेदका आधारमा योजनावद्ध रुपमा घटाइएको स्थलगत अध्ययनबाट खुलेको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जागरण मिडिया सेन्टर, समता फाउण्डे्न र आईसिडिआर इन्टरनेशनल लगायतका संघसंस्थाहरुको अध्ययन टोलीको प्रतिवेदन अनुसार सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठ निश्कर्ष निकालेको छ ।
उक्त घटनाको जड अन्तरजातीय प्रेम रहेको कुरामा कसैले पनि नकार्न सक्दैन । संघको मिसन टोलीले स्थलगत अध्ययन गरी विहिवार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा उल्लेख छ “घटनाको प्रकृति, घाइतेहरुको भनाई, आफन्तहरुको भनाई, स्थानीय सरकार, नेपाल प्रहरी तथा घटनाको पृष्ठभूमि हेर्दा उक्त घटना नियोजित रुपमा भएको देखिन्छ । उक्त हत्यालाई लकडाउन उलंघन गरेको तथा भागदौडका क्रममा आफैँ भेरीमा हाम फालेको वारदात कायम गराउने परिपञ्च स्वरुप आएको देखिन्छ । घटनाको जरिया (जड)अन्तरजातीय प्रेमसम्बन्ध नै देखिन्छ ।
जातीय विभेद तथा छुवाछूत कै कारण उक्त प्रेम सम्बन्ध अस्विकार्य भई सामुहिक हत्या भएको देखिन्छ ।” “उक्त घटनाले संविधान तथा कानूनी राज्यलाई जवाफदेही बनाउन बाध्य पारेको देखिन्छ । जातका नाममा हुने हिंसा तथा दिनानुदिन हुने जातीय विभेदका घटनाहरु हेर्दा सरकार र सरोकारवाला निकाय अझैँ गम्भीर हुन आवश्यक देखिन्छ ।
त्यसैले यस्ता अपराधमा संलग्न सबैलाई हदैसम्मको दण्डको व्यवस्था गरिनुपर्दछ । यस प्रक्रियामा कुनै प्रकारको हस्तक्षेप हुनुहुदैन । यस्तो जघन्य अपराधलाई राजनीतिक रंग दिनु राम्रो हुँदैन । यस घटनामा पनि राजनीतिक गन्ध देखिन्छ । तर पनि अपराधीले सजाय पाउनुपर्छ निर्दोषले फस्न हुँदैन भने पीडितले न्याय पाउनु नै पर्छ ।” प्रतिवेदनमा भनिएको छ । घटनामा नवराज विक, सन्दिप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार, गणेश बुढा र गोविन्द साहीको मृत्यु भएको थियो ।

