लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, शैक्षिक संस्था भने ठप्प रहने

दियो पोस्ट  

काठमाडौं । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा अर्थ र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । जसअनुसार निजी क्लिनिक समेत सञ्चालन हुनेछन् ।

यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको खतिवडाले बताए । तर, सपिङ मल भने खोल्ने निर्णय भएको छैन ।

यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ । तर भिडभाड नगर्न र सुरक्षा अपनाउन सरकारले अनुरोध गरेको छ।

यस्तै, सरकारले साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना यात्रा गर्न रोक लगाइएको छ । यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर, जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले बताए ।

यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गर्ने सरकारी निर्णय छ । यस्तै नर्सरी र बनजन्य व्यवसाय, विकास आयोजना, निजी क्षेबाट प्रवर्द्धित आयोजना पनि निर्वाध रुपमा सञ्चालित हुनेछन् भने नदीजन्य ढुवानी पनि खुला गरिएको छ।

यसैगरी रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको छ ।

रेस्टुरेन्ट खोल्न पाइने भएपनि त्यहाँ ग्राहकले भिडभाड गर्न पाउने छैनन् । ग्राहकले रेस्टुरेन्टसम्म पुगेर सुरक्षितरुपमा प्याकिङको अर्डर गरेर घर तथा अफिसमा लगेर खान सक्ने सरकारको निर्णय छ । लकडाउन खुकुलो भए पनि शैक्षिक सस्था भने पूर्णतया बन्द रहनेछन् ।

सिफारिस