
बुटवल । बिश्व हिन्दु महासंघ, प्रदेश नम्वर ५, बुटबलले रुकुम पश्चिम चौरजहारी-सोती घटनाका बिषयमा आफ्नो धारणा प्रष्ट पारेको छ । आज बुटवलमा आयोजित “रुकुम घटनाका सन्दर्भमा जातीय सद्भाव सहितको धार्मिक सहिष्णुता आजको आवश्यकता” बिषयक बिचार गोष्टीका बक्ताहरुले रुकुम घटना जातीयताकै कारण भएको भन्दै घटनाका दोषीलाई कडाभन्दा कडा कानुनी कारवाही हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै धार्मिक गुरु तथा पण्डित भिमकान्त पन्थीले हिन्दु धर्म भित्र जातप्रथा नभएको भन्दै यसलाई निर्मुल पार्न बिश्व हिन्दु महासंघले पहल गर्ने बताए । उनले भने,–‘शास्त्रमा जात प्रथा छैन, तर हिन्दु भनिनेहरु जात प्रथालाई मान्दै आएका छन् त्यो धर्म बिरोधी कार्य हो । हिन्दु धर्मसंग जातप्रथाको कुनै साइनो छैन । जात प्रथा नेपालको ब्लड क्यान्सर हो । यसका बिरुद्धमा सबै हिन्दुहरु एक हुनु पर्छ ।’ अबको १५ वर्ष भित्र नेपालमा जात प्रथाको अन्त्य हुने दाबी गर्दै पण्डित पन्थीले त्यसको पहल बिश्व हिन्दु महासंघले गर्ने बताए ।
कार्यक्रममा बोल्दै ब्राम्हण समाज नेपाल, बुटबका अध्यक्ष रोममणी प्रसाद पाठकले रुकुम चौरजहारी घटनालाई इंगित गर्दै जातप्रथामा आधारित यस्ता घटनाले समाजिक सहिष्णुतामाथि प्रहार गरेको औल्याए । उनले जातीयता धर्मसंग संबन्धित भएको र छुवाछुत प्रथा अन्त्य गर्न ब्राम्हण समाज तयार रहेको उल्लेख गरे । मनुस्मिृतिका कारण धर्ममा बिचलन आएको प्रसंग उल्लेख गर्दै अध्यक्ष पाठकले ब्राम्हण समजले मनुस्मिृतिलाई लाई खारेज गरेको र जतीय बिभेद अन्त्यका लागि आफु प्रतिबद्ध रहेको बताए ।
संबिधान सभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडीले जातीय बिभेदका बिरुद्धमा बिश्व हिन्दु महासंघको प्रतिवद्धता ऐतिहासिक भन्दै त्यसको खुलेर प्रशंसा गरे । उनले भने, “बिश्व हिन्दु महासंघले दलित आन्दोलनाई आत्मसाथ गर्नु आफैमा खुसीको कुरा हो । बुटबलबाट सम्पूर्ण गैर दलित ब्राम्हण समुदायका पंण्डितहरुले बिभेदका बिरुद्ध र रुकुम घटनाको बिरोधमा ऐक्यवद्धता जनाउनु २००४ साल देखिको सामाजिक रुपान्तरणको प्रयासलाई माथि उकास्नु हो ।” रुकुम घटनाका अपराधीलाई जोगाउने जो कोही अपराधी हुन भन्दै उनले देश ब्यापी हुने जातीय बिभेदका घटनाका बिरुद्ध भण्डाफोर अभियान चलाउने बताए ।
कार्यक्रममा बोल्दै बिश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष तथा अधिवक्ता बेन बहादुर पौडेल क्षेत्रीले रुकुम घटना गंभिर मानवीय तथा कानुनी अपराध भएको बताए । बिश्व हिन्दु महासंघको पहलमा जातीय बिभेदको अन्त्य गरिने भन्दै उनले रुकुम घटनाको बिषयलाई बुटवल घोषणा पत्रमा उल्लेख गरिने जानकारी दिए । “रुकुम घटनाको मुख्य जड जातीयता हो, त्यसको घोर भ्रत्सना गर्दै अपराधीलाई कानुनी दायरामा ल्याइयोस भनेर हामीले बुटवल घोषणा पत्रमा उल्लेख गर्छौँ ।” उनले भने,–“जहाँ बिभेद हुन्छ, त्यहाँ बिश्व हिन्दु महासंघ बिभेदका बिरुद्ध बोल्न तयार छ ।”
आफुलाई हिन्दु धर्मका अनुयायी बताउने पंण्डित र दतित अधिकार कर्मीहरुले जातीय बिभेद बिरुद्ध एकै मंचबाट आवाज उठाएको संभवत पहिलो मानिएको छ । त्यसको सुरुवात प्रदेश नम्बर पाँचबाट भएको भन्दै चौतर्फी प्रशंसा समेत गरिएको छ ।
कार्यक्रममा दलित संघर्ष समितिका पदम बिश्वकर्मा, बिश्वकर्मा समाजका रेमन्त गहतराज, सार्की समाजका इन्द्र बम्रेल, राई समाजका पंकज राई, बैदिक धर्म परिषदका पार्वता भण्डारी, क्षेत्री समाजका गुप्त बहादुर केसी, आदिवासी जनजाती महासंघका गुप्त गाह लगायतले आफ्नो धारणा राख्दै नेपालमा जातीय बिभेदको समुल अन्त्य गर्न सबै प्रतिबद्ध हुनु पर्ने औल्याए ।

