काठमाडौं, २६ जेठ । कोरोना महामारीबीच केही ट्राभल्स एजेन्सीले चार्टर फ्लाइटको नाममा ठगीधन्दा नै चलाइरहेको भएपनि सरकारले उनीहरुलाई कुनै कारबाही गर्न सकेको छैन ।
सामान्यतया लकडाउन नहुँदा काठमाडौंबाट संयुक्त राज्य अमेरिकासम्मको हवाई यात्राको एकतर्फी भाडा दर ६५ हजारदेखि १ लाख रुपैयाँसम्म पर्ने गर्छ । तर केही दिनअघि दरबारमर्ग स्थित प्रेसिडेन्ट ट्राभल्सले कतार एयरवेजका लागि अमेरिकाको सिकागोसम्मको चार्टर प्रतियात्रु २ हजार ५ सय २० डलर सम्म असुल्यो । जसको नेपाली रुपैयाँ हिसाब गर्दा ३ लाख ४ हजार २ सय ७६ रुपैयाँ हुन आउँछ ।
त्यस्तै सोही रुटमा टर्किस एयरलाइन्सले पनि चार्टर उडान गरेको थियो । टर्किस एयरका लागि नेपाली तीन वटा ट्राभल्स एजेन्सीहरु मेगावाइट, सीलिंक र डेलिजेन्टले प्रतिसिछ २२ सय ५० डलर अर्थात २ लाख ७२ हजार देखि २५ सय डलर अर्थात ३ लाख २३ हजार रुपैयाँ सम्म विक्री गरेका थिए ।
ठगीगर्दा समेत सरकार भने कारबाही गर्नुको सट्टा उनीहरुले टिकट काटिरहेकै रेटको भाडादर सार्वजनिक गरेर रमिता गरिरहेको छ । यद्धपी भाडादर घटाउने नाटकीय दृष्य भने नदेखिएको होइन ।
प्रेसिडेन्ट ट्राभल्सका मालिक भोला विक्रम थापाले त सरकारले तोकेभन्दा तेब्बर मुल्यसम्म भाडा असुली गर्दै आएको पाइएको छ ।
बानेश्वर घर भएकी एक महिलाको नाममा खरिद गरिएको टिकटमा प्रेसिडेन्ट ट्राभल्सको खातामा ३ लाख ९३ हजार रुपैयाँ जम्मा गरिएको छ । काठमाडौंबाट अमेरिकासम्म चार्टर फ्लाइटको नाममा उठाइएको यो रकम तोकिएको भन्दा तीन गुणा महँगो हो । तर, सरकारले उनलाई कारबाही गर्न सकेको छैन ।