काठमाडौं, ६ असार । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई जनताले प्रश्न गर्न पाउनुपर्ने हो । जनताको सेवा गर्छु भन्दै कसम खाएर निर्वाचित भएका प्रतिनिधि भने सत्तामा पुग्ने वित्तिकै आलोचक र प्रश्न गर्नेहरुमाथि कानुनको दुरुपयोग गर्न थालेका छन् । उनीहरुकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परिरहेको तथ्य लुकाउन सकिँदैन ।
यसरी कानुनको धज्जी उडाउँदै वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो आलोचना र प्रश्न गर्नेमाथि प्रहरी प्रशासनको दुरुपयोग गर्न थालेका छन् ।
पौडेल विरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै मकवानपुर प्रहरीले पाल्पा निवासी भूभर्गविद् प्रकाश लुँइटेललाई पक्राउ गरेको छ । हेटौंडा स्थित काठमाडौं तराई द्रुतमार्ग आयोजनामा कार्यरत लुँइटेललाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको पाइएको छ ।
पक्राउ परेका लुँइटेल ५ दिनदेखि प्रहरीको हिरासतमा छन् । उनले वागमति प्रदेशका मुख्य मन्त्री पौडेलको तस्विर राख्दै कोरोना भाइरस कोभिड १९ रोकथामका लागि पौडेलले काम गर्न नसकेको बताएका थिए ।