काठमाडौँ, असार ८ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुिष्ट भएको छ । अस्पतालको ल्याब र एक्सरे विभाग र अन्य कर्मचारीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।
गत जेठ ३१ र ३२ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीसहितका ४५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । जसमध्येका पाँचजनालाई कोरोना संक्रमण देखिएको हो । क्वारेन्टिनमा रहेका सबै ४५ जनाको स्वाब परीक्षण गरिएको थियो ।
‘कोरोना संक्रमण देखिएका पाँजनालाई आईसोलेसनमा राखिएको छ भने बाँकी नेगेटिभ रिपोर्ट आएकाहरु भने सोमबारदेखि नै काममा खटिने अस्पताल प्रशासनले जानकारी दिएको छ । सामान्य अवस्थामा नै स्वास्थयकर्मीको अभाव झेलिरहेको अवस्थामा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु क्वारेन्टिन र आइसोलेशनमा बस्नुपरेपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
सामान्य बिरामी भएर प्रदेश अस्पतालमा आएका बिरामीहरुमा पनि कोरोना पोजेटिभ देखिन थालेपछि अस्पतालको सेवा अवरुद्ध हुने सम्भावना देखिएको छ ।
गत शनिबार मात्रै नारायण नगरपालिका दैलेखबाट आएका तीनजना बिरामीमा पनि कोरोना पोजेटिभ देखीएको छ । उनीहरु ६ वर्षीय बालकको पेटको अप्रेसन गर्न आएका थिए ।
अप्रेसन गरिसकेपछि बालकसहित दुईजना अभिभावकको पीसीआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको थियो ।