
काठमाडौँ, असार १० । नेपाल कम्युनिस्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई पाँचै बर्षसम्म सरकार चलाउन दिएकोमा पश्चातापको संकेत व्यक्त गरेका छन् । बुधबार शुरु भएको स्थायी समिति वैठकमा अध्यक्ष प्रचण्डले सरकारलाई दुई तिहाईको घमण्ड बढेको बताएका छन् ।
उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै एक जनाले सम्हाल्दा सरकार र पार्टी दुबै विफल भएको बताएका एक स्थायी समिति सदस्यले बताएका छन् । पार्टीभित्र हैकम चलाउने र अव्यवस्थित बनाउने तथा सरकार पनि एकलौटी ढंगले चलाएको कारण जनभावना अनुरुप काम नभएको गुनासो प्रचण्डले पोखेको ती सदस्यले बताएका छन् ।
पार्टी र सरकार सबैमा एउटै व्यक्तिको दबदबा बढेको छ। कार्यकारी अध्यक्षको भूमिका रहे पनि त्यो अनुसारको काम भएको छैन, प्रचण्डको भनाइ उद्धृत गर्दै अर्का स्थायी समिति सदस्यले भने, ‘विगतमा भएका सहमति र समझदारी कार्यान्वयन हुन सकेको छैन। यस्तै पाराले पार्टी अगाडि बढ्न सक्दैन।’
उनले सरकारले गर्न सक्ने काम पनि नगरेको बताएका छन् । बाहिरबाट पार्टी र सरकारलाई असफल बनाउने प्रयास भइरहेको अवस्थामा पार्टीभित्रकै आन्तरिक कारणले सरकारले राम्रो काम गर्न नसकेको बताएका छन् । साम्यवादमा पुगेपछि पार्टी नचाहिने भन्ने आफूहरुको विश्लेषण भए पनि अहिले नै पार्टी विलीन हुने अवस्था आएको प्रचण्डले बताएका छन् । ‘गुटहरु छन् तर पार्टी छैन जस्तो भएको छ’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले बताए ।
पार्टीभित्रै देखिएको समस्यालाई लिएर बिद्रोह गर्दा पार्टी फुट्ने र यसबाट देश जनता कसैलाई पनि हित नहुने भन्दै प्रचण्डले एकतामा जोड दिएका छन् । पार्टीभित्र आफ्नो गल्ती र कमजोरीहरुलाई स्वीकारेर त्यसलाई सुधार गर्दै अगाढी बढ्न सकेको खण्डमा राम्रो हुने उनको भनाइ थियो ।