आइसोलेशनमा ज्यान गुमाएका राजुका परिवारलाई प्रदेश २ सरकारले पाँच लाख दिने

दियो पोस्ट  

जनकपुरधाम, असार १२ । आइशोलेशनमा ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका १६ बर्षीया राजु सदाको परिवारलाई प्रदेश सरकाले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

गत जेठ ३ गते भारतको अहमदाबादबाट स्वदेश फर्किएका राजु गाउँकै क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेको १७ दिन पछि झाडापखाला लागेपछि टिप्परमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म पुर्याइएको थियो । अस्पतालको आइशोलेसनमा रहेका राजुले समयमै उपचार पाउन नसक्दा ज्यान गुमाएका थिए ।

अस्पताल प्रशासननले जीवनजल समेत नदिएको कारण उनको ज्यान गएको उनका परिवारको दावि छ । कोरोना संक्रमित हो भन्ने शंकाको आधारमा अस्पतालका डाक्टरहरुले उनको उपचार नगरेको र पछि रिपोर्ट नेगेटिभ आएपछि मात्र आकस्मिक कक्षमा लागिएपनि धेरै ढिला भइसकेको थियो ।

घटनाबारे अनुसन्धान गर्नका लागि प्रदेश सरकारले समिति नै गठन गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले उक्त समितिले कामसमेत गर्न थालेको र दोषी भेटिने जो कोहीलाई पनि कारबाही गरिने बताएका छन् ।