काठमाडौँ, असार १६ । कोरोनाभाइरसको महामारी नेपालमा फैलिएपछि हालसम्म चार जनाले क्वोन्टिनमै आत्महत्या गरेका छन् । थप एक जनाले क्वारेन्टिनबाट घर गएको एक हप्तापछि आत्महत्या गरे । आत्महत्या गर्ने ५ जनामध्य तीन जना दलित समुदायका छन् ।
देवबहादुर विक, अर्घाखाँची
कामको सिलसिलामा भारतको पञ्जाब बस्दै आएका देवबहादुर बिक कोरोनाको महामारीपश्चात स्वदेश फर्किएका हुन् । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका घर भएका बिक गत जेठ १० गते देखि क्वारेन्टिन बस्दै आएका थिए । क्वारेन्टिन बसेको केही दिनमा नै उनले आत्महत्या गरेका थिए । उनले कोरोना परिक्षणको रिपोर्ट आउनु अगावै आत्महत्या गरेका थिए । क्वारेन्टिन बसेको दुई सातापछि मात्र उनको स्वाव परिक्षणका लागि पठाइएको थियो तर रिपोर्ट भने ११ दिनपछि आएको थियो । मृत्युपश्चात आएको रिपोर्टमा उनलाई कोरोना पोेजेटिभ देखिएको थियो ।
४३ बर्षीय देवबहादुरका दुई छोरा, दुई छोरी श्रीमती र बाबु रहेको बताइएको छ । उनको बाबु दिर्घ रोगी भएको र परिवारको आर्थिक स्थिति पनि निकै कमजोर रहेको त्यहाँका वडाध्यक्षले बताए । उनि स्वयंममा भने यसअघि कुनैपनि रोग नरहेको बताइएको छ ।
चन्द्रबहादुर परियार गुल्मी
गुल्मीका चन्द्रबहादुर परियार गत जेठ १७ गते दिल्लीबाट फर्किएर सिधै क्वारेन्टिनमा बसेका थिए । उनको तत्काल उनको स्वाव संकलन गरि परिक्षणका लागि पठाइएको थियो । ५६ बर्षीय चन्द्रबहादुरले पनि कोरोना परिक्षणको रिपोर्ट आउनु भन्दा पहिले नै आत्महत्या गरेका थिए । मृत्युपश्चात आएको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको थियो ।
भारतको दिल्लीबाट फर्केकै दिन उनले आत्महत्या गरेका थिए । उनलाई साँझ ७ बजेतिर क्वारेन्टिन नजिकैको रुखमा झुण्डिएको भेटिएको थियो । उनको ४ छोरा र श्रीमती रहेको र परिवारको आर्थिक स्थिति सामान्य रहेको गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष डिलाराम न्यौपानेले बताए।
आशा मल्ल, सुर्खेत
२५ बर्षीया युवती आशा मल्ल भारतबाट फर्किएर १४ दिन क्वारेन्टिन बसेका थिईन् । सुर्खेतको सिम्ता गाउँपालिका घर भएका आशाले क्वारेन्टिनबाट घर फर्किएको हप्ता दिनमै आत्महत्या गरेकी थिईन् । आरडिटी परिक्षणमा कोरोना नेगेटिभ देखिएपछि घर फर्र्किएका उनमा मृत्यु पश्चात गरिएको पिसिआर परिक्षणमा भने कोरोना पोजेटिभ भेटिएको थियो ।
आशाका श्रीमान् अर्जुन विगत ८ वर्षदेखि भारतको हिमाचलमा थिए। गत पुष महिनामा श्रीमान्सँग भारत गएकी आशाले चार महिनादेखि हिमाचलकै एउटा निजी ब्याङ्कमा कार्यालय सहयोगीको रूपमा काम गर्थिन्।
लकडाउनअघि दुईजनाको आम्दानी महिनामा झण्डै ३० हजार नेपाली रुपैयाँ हुने गरेको अर्जुनले बताए। श्रीमतीको आम्दानीले खान बस्न र आफ्नो आम्दानी बचत हुने गरेकोमा लकडाउनले काम ठप्प भएपछि उनीहरू गत जेठ १० गते घर फर्किएका थिए।
रुपैडियासम्म गाडी रिजर्भ गरेर सुरक्षित आएको बताउने अर्जुन नेपालगञ्जबाट घर पुग्दा भने भारतका विभिन्न ठाउँबाट आएका मान्छेसँग एउटै गाडीमा यात्रा गर्दा श्रीमतीमा कोरोनाभाइरस सङ्क्रमण सरेको हुन सक्ने बताए ।
पहिले पनि आत्महत्या प्रयास
क्वारन्टीनबाट घर आएपछि गत जेठ ३१ गते साँझ ६ बजेतिर माइत जाने भन्दै आशा घरबाट निस्किएकी थिइन् ।
अर्को दिन माइत नगएको थाहा भएपछि खोजी गर्दा असार १ गते घर नजिकैको जङ्गलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको आफन्त बताउँछन् ।श्रीमान अर्जुन भन्छन्, न घर झगडा भएको थियो, न त कोरोनाभाइरस सङ्क्रमणको कुनै लक्षण नै देखा परेको थियो।
अन्तर्मुखी स्वभावकी उनले पहिले पनि एकपल्ट आत्महत्याको प्रयास गर्दा डोरी काटेर बचाएको अर्जुनले बताए।आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएकी उनले कोरोनाभाइरस सङ्क्रमण भएको थाहा पाएर नभई अरू कुनै कारणले आत्महत्या गरेको हुनसक्ने उनी बताउँछन्।
आत्महत्या गरे पनि आशालाई कोरोनाभाइरस सङ्क्रमणकै कारण मृत्यु भएको सूचीमा राखिएको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।
उनले भने, ‘जुनसुकै कारणले मृत्यु भएपछि यदि स्वाब परीक्षणमा पोजिटिभ देखिए विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गाइडलाइनअनुसार कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको सूचिमा राख्ने गरिएको छ।’
भूपेन्द्र दमाई , बाजुरा
बाजुराका ४५ बर्षीय भूपेन्द्र दमाईले जेठ ३० गते बेलुका आत्महत्या गरेका हुन्। भारतबाट २ छोरा‚ २ छोरी र श्रीमतीसहित आएका उनी बाजुराको बडिमालिका नगरपालिका २ माझिगाउँका थिए।
भूपेन्द्रले कोरोनाभाइरस पुष्टि भएपछि आत्महत्या गरेको बताइएको छ। बुधवार आएको रिपोर्टमा उनमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए।
उनी जेठ २८ गते मात्र भारतबाट आएर क्वारन्टीनमा बसेका थिए।
आर्थिक रूपमा कमजोर‚ लामो समयदेखि दमको रोगबाट ग्रस्रित भएको र आफूसँग केही नभएपछि परिवारलाई कसरी पाल्ने भन्ने चिन्ताले आत्महत्या गरेको हुन सक्ने बताइएको छ।
विगत २४ वर्षदेखि भारत बस्दै आएका उनी क्वारन्टीनसँगैको खाली कोठाको धुरीमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा देखेपछि उनको परिवारले प्रहरीलाई खबर गरेका थिए।
आफूसँग केही नभएका भूपेन्द्र बन्दाबन्दीका कारण भारतमा केही उपाय नचलेपछि परिवारसहित नेपाल आएका थिए।
रमेश धामी, बझाङ
भारतको बेङ्गलोरबाट आएका ३२ बर्षीय रमेश धामीले सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए।
उनले बझाङ जिल्लाको छब्बिस पाथिभारा गाउँपालिका मचखोरीमा रहेको मचखोरी माध्यामिक विध्यालयको क्वारन्टीनमा आत्महत्या गरेका हुन्।
भारतको बेङ्लोरमा काम गर्दै आएका उनी श्रीमती र एक जना बच्चालाई बहिनीसँग छोडेर दाईसँग अलमोडामा रहेकी बिरामी आमा र दुई जना आफ्ना छोराछोरी भेट्न हिँडेका बताइएको छ।
भारतमा बन्दाबन्दीका कारण अलमोडा जान नपाउँदा उनले नेपाल आउनु परेको बताइन्छ।
गौरीफन्टा नाकाबाट ५ गते नेपाल भित्रिएका थिए। मचखोरी माध्यमिक विध्यालयको क्वारन्टीनमा बसेका उनी पर्सिपल्ट असार ७ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए।
रमेश धामीको सुसाइट नोटमा गाउँका अरुको पैसा लिएर आएको‚ आर्थिक समस्याले डिप्रेसनमा गएको जस्ता कुरा लेखिएको प्रहरीले जनाएको छ।
स्रोतः बीबीसी