
काठमाडौँ, असार १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिती वैठकमा अध्यक्षद्वय प्रचण्ड र ओलीबिच भनाभन भएको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी समिति वैठकमा अध्यक्ष ओली माथि अर्का अध्यक्ष प्रचण्ड खनिएका हुन् । प्रधानमन्त्री ओलीले केही दिनअघि दिएको अभिव्यक्तिको जवाफ दिँदै प्रचण्डले भारतले नभई आफुले उनलाई प्रधानमन्त्री पदबाट हटाउन चाहेको बताएका हुन् ।
१७ वैशाखमै मैले तपाईंको राजीनामा मागेको हो, अहिले पनि मागेँ, पहिला पनि तपाईंलाई दिल्लीले होइन, मैले हटाएको हो, अब पनि मैले नै हटाउँछु,’ प्रचण्डले बैठकमा राखेको राधणा उद्धृत गर्दै एक स्थायी समिति सदस्यले बताए ।
प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए ।
त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए ।
वैठकमा उपस्थित अन्य सदस्यहरुले पार्टीमा प्रचण्ड र ओलीको लागि असुहाउँदो गरि राखिएको कु्र्सी हटाउन माग गरे ।