नेकपा एमाले ब्यूँताउने खेलः निर्वाचन आयोगमा दल दर्ताको निवेदन !

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १७ । दुई बर्षअगाडी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरण पश्चात नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । हाल अध्यक्ष ओली प्रधानमन्त्री र अध्यक्ष रहँदै गर्दा पार्टीभित्र चरम असन्तुष्टि चुलिएको छ । नेकपामा समाहित भइसकेको नेकपा एमाले पुनः ब्यूताउने खेल भएको भन्दै मंगलबारको स्थायी समिति वैठकमा पार्टीको शीर्ष नेताहरुले प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् ।

पार्टीका अर्का अध्यक्ष प्रचण्ड र नेता बामदेव गौतमले पार्टीभित्र एमाले ब्युँताउनका लागि प्रधानमन्त्री ओलीकै निर्देशनमा निर्वाचन आयोगमा निवेदन पुगेको भन्दै आक्रोश पोखेका छन् । जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले यस सम्बन्धमा आफुलाई कुनैपनि जानकारी नभएको बताए ।

यता निर्वाचन आयोगले मंगलबार नै झापाकी सन्ध्या तिवारीले नेकपा एमालेको दर्ताका लागि निवेदन दिएको पुष्टि गरेको छ । तिवारी अध्यक्ष रहने गरि १९ जना व्यक्तिको नामसहितको निवेदन निर्वाचन आयोगमा पुगेको जानकारी दिइएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्र चरम आलोचना भएपछि उनले आफ्नो कमजोरीलाई ढाकछोप गर्न अथवा पार्टीको अन्य शीर्ष नेताहरुप्रति जनभावना गिराउनका लागि भारतले आफुलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको अभिव्यक्ति दिएको हुनसक्ने एक नेताले बताए ।

प्रधानमन्त्रीको त्यो प्रकारको अभिव्यक्ति, राष्ट्रपतिसँगको भेट र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताको बिषयलाई लिएर पार्टीभित्र हंगामा मच्चिएको छ भने विज्ञहरुले यसलाई अर्थपुर्ण ढंगले विश्लेषण समेत गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस