काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहागनगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भिमफेदी गाउँपालिका–५ बस्ने २४ वर्षीय रोहित मिजार रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बा.प्र–०३–००१ ज ३१५ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त पदार्थसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी पर्साको बहुदरमाई गाउँपालिका–७ भौटराटारबाट अवैध लागूऔषध गाँजाको धुलो १ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६५ वर्षीय महेन्द्र महतो रहेका छन् । प्रहरी चौकी डकैलाबहुअरीबाट खटिएको प्रहरीले साइकलयात्री महतोलाई जाँच गर्ने क्रममा उक्त गाँजाको धुलोसहित शनिबार राति पक्राउ गरेको हो ।
साथै कैलालीको जानकी गाउँपालिका–५ अमौराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ सय ६० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३४ वर्षीय अनिल चौधरी र २२ वर्षीय पुरन चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित शनिबार साँझ पक्राउ गरेको हो ।
यसैगरी धनकुटाको साँगुरिगढी गाउँपालिका–६ नमस्ते झरना छेउबाट अवैध लागूऔषध गाँजा ७३ केजी शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले उक्त झरना छेउमा वेवारिसे अवस्थामा रोकी राखेको बीआर ३८ इ ४०८४ नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सबै ठाउँका घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।