छुट्टाछुट्टै ठाँउमा करेन्ट लागेर ४ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–७ स्थित अनुबरा खोलामा भुसा लोड गरी बयलबासबाट ब्रहम्पुरीतर्फ जाँदै गरेको ना.४ ख ६९७६ नम्बरको ट्रक बाटोमा लत्रिएको विजुलिको तारमा छुदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट घर भएका २४ वर्षीय संजय मुखिया रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका ट्रक चालकको नेपाल मेडिसिटी अस्पताल बारामा उपचार भइरहेको छ ।

यसैगरी नवलपरासी (पूर्व), मध्यविन्दु नगरपालिका १३ र १४ स्थित गोरे भन्ज्याङ भन्ने स्थानमा लत्रेको तारबाट करेन्ट लागेर आइतबार साँझ घटनास्थलमै एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१४ बस्ने ७० वर्षीय मन बहादुर सोमै रहेका छन् ।

साथै धादिङको निलकण्ठ नगरपालिका–३ सनत बजारको एमाले चोकस्थित मुलचोटोल सुधार समितिको सडकको बत्ति बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ४५ वर्षीय डम्बर बहादुर लामिछाने मगर रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा आइतबार राति बाटोमै मृत्यु भएको हो ।

यसैगरी अर्घाखाँचीको छत्रदेव गाउँपालका–३ मथुराबेशीस्थित के.बि.बेम्बो होटल नजिक मकैबारीमा बदेललाई धपाउनको लागि करेन्ट जोडी राखेको विजुलीको नाङगो तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही होटलमा काम गर्ने गुल्मी मुसिकोट नगरपालिका–३ पेगा घर भएका २६ वर्षीय बिमल महत रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।