जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जिल्लाका दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्री रहेका छन् । ती किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

यसैगरी रोल्पामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ बस्ने ४२ वर्षीय बीर बहादुर विक रहेका छन् । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–१८ करणी सम्बन्धी कसुर यस्तो व्यवस्था अनुसार जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हदका आधारमा विभिन्न बुँदामा सजायको व्यवस्था गरिएको छ । जसमा १४ वर्ष वा १४ वर्ष भन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्ष दखि १४ वर्षसम्मको कैद सजाय हुने छ ।