काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका–४ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–३ बस्ने २४ वर्षीय मनिष वाग्ले रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी मंगलबार राति पक्राउ गरेको हो ।
यसैगरी मोरङमा नियन्त्रित लागूऔषध स्पासपेन २ सय चक्की, ट्रामाडोल ६ सय ४५ चक्की र ५ सय ग्राम गाँजासहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका–८ बस्ने २५ वर्षीय सुवास कार्कीसहित ५ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीटोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी बुधबार बिहान पक्राउ गरेको हो ।
साथै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ अधेरीखोलास्थित सडकमा रोकी राखेको आरजे ०२ जिए ८३८८ नम्बरको भारतीय ट्रकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजी प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई जाँच गर्ने क्रममा लुकाई छिपाई प्लाष्टिकको टेपले रोलिङ गरी राखेको उक्त परिमाणको गाँजा फेला पारी बुधबार दिउँसो बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।