काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ पानीपोखरीस्थित सडकमा बा.८२ प १२२५ नम्बरको मोटरसाइकललाई बा.५ ख ३१९३ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–४ चुनदेवी गणेशबस्ती घर भएकी ६० वर्षीया रचना
गौचन रहेकी छिन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्ज हुँदै ग्राण्डी अस्पताल टोखामा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । दुबै सवारी साधनको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ सानो महुवारीस्थित सडकमा लु.७३ प ८९४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६५ वर्षीय बडखरी यादव रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको भारतको कक्रहवामा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।