छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा ८ जनाको मृत्यु

दियो पोस्ट

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । रूपन्देहीको सैनमैना नगरपालिका–४ रन्यौरामा लु.१ ब १३३५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६८ वर्षीया सचि कार्की रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी महोत्तरीको औरही नगरपालिका–७ भोइलमा ज.१ त १६५५ नम्बरको ट्याक्टरले प्रदेश २–०२–००२ प ६४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–१२ बस्ने ३५ वर्षीय प्रदिप महतो रहछन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय सिटिजन अस्पताल रामगोपालपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै मोरङको लेटाङ नगरपालिका–३ स्थित सडकमा प्र.न.१.०२–००३ ह १३१२ नम्बरको अटोलाई प्र.न.१–०२–००२ च ४१७३ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा शुक्रबार राति अटोमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक कानेपोखरी गाउँपालिका–६ बस्ने ३५ वर्षीय सागर तामाङको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचार भइरहेको छ । सोही अटोमा सवार सोही ठाँउ बस्ने टीका आले मगरकी छोरी ८ वर्षीया रोशनी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङकै कानेपोखरी गाउँपालिका–७ आइतबारेमा प्र.२–०१–००३ प ४९३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा लहान नगरपालिका–२४ बस्ने २० वर्षीय सन्तोष भुजेलको रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर उर्लावारी मंगलबारेमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रिफर गरिएको छ ।

यसैगरी मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँमा ना.६ ख ६६६७ नम्बरको ट्रक र ना.६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना.६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवन राप्ती नगरपालिका–८ बस्ने २७ वर्षीय रिहान रुम्बा तामाङ र सोही ट्रकको सह–चालक गोरखा गण्डकी गाउँपालिका–२ गोर्दीटार बस्ने २० वर्षीय सुमन चेपाङ रहेका छन् भने ना.६ ख ६३१ नम्बरको ट्रकका सह–चालक मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने २० वर्षीय अमृत प्रजा रहेका छन् । साथै दुर्घटनामा घाइते भएका दुवै ट्रकमा सवार २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटना पश्चात आगलागी समेत हुँदा दुवै ट्रक पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर