
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय रन्जीत राना र २० वर्षीया पुष्पा राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त लागूऔषधसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङबाट अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही कौडेना गाउँपालिका–१ बस्ने ३५ वर्षीय कौशल शाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
साथै सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१३ गुप्तीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ८० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय विक्रम भन्ने ओम बहादुर सार्की रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी पर्साको पोखरिया नगरपालिका–९ सेमरवारीबाट अवैध लागूऔषध गाँजा १२ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा कालिकामाई गाउँपालिका–५ हरिहरपुर बस्ने ३२ वर्षीय बृज किसोर पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा पिठयुमा बोकेको झोला फालि भाग्न खोज्दा प्रहरीले पिछा गरी उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार अन्य १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।