
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका–६ माछाचोकमा ना.२६ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८८ वर्षीया गैमाया गुरुङ्ग रहेकी छिन् । गत बिहीबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला रहेकी छिन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर बर्दिबासमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
साथै नुवाकोटको ककनी गाउँपालिका–१ सिमटारमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । गाडीको ठक्करबाट उनको को गएराति घटनास्थलमै मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैसाथ सुनसरीको रामधुनि नगरपालिका–१ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३७ वर्षीया महिला रहेकी छिन् । गाडीको ठक्करबाट उनको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।