
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।
आरजुले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् ।
त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।
आरजुले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग समेत गरेकी थिइन् ।
यो प्रकरणमा पछिल्लो समय कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पनि नाम जोडिन थालेको छ । केही दिन अघि उक्त प्रकरणमा संलग्न रहेको भन्दै सिटौला र डा आरजु राणालाई पक्राउ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीलाई निर्देशन दिएको खुलासा भएको थियो । यद्यपी गृहमन्त्रीको निर्देशन दिए पनि पक्राउ गर्न प्रहरी नेतृत्व हच्किएको थियो ।
.महानिरीक्षक कुँवरले आफूलाई बोलावट भएको र ब्रिफिङ मागेकाले प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति देउवासमक्ष घटनाको ब्रिफिङ गरेको स्वीकार समेत गरेका थिए ।
