
काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नुवाकोटको ककनी गाउँपालिका–१ सिमटारस्थित सडकमा प्र.०३–००१ क ०५३६ नम्बरको टिपरले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४३ वर्षीय मोहन कृष्ण बलामी रहेका छन् । टिपरको ठक्करबाट उनको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवनको राप्ती नगरपालिका–१० किरनटारस्थित सडकमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१० खहरे बस्ने ३० वर्षीय कल बहादुर चेपाङ रहेका छन् । साईकलबाट लडेर गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।