काठमाडौं । विभिन्न ठाँउमा डुबेर ४ जनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका–३ नयाँबस्तीको करम्दी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल सोही ठाँउ बस्ने रोल्पा सुनछहरी गाउँपालिका–३ भित्री गाम घर भएका सन बुढामगरको छोरा ६ वर्षीय खिमान बुढामगर रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको भालुवाङ अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी नवलपरासीको (पूर्व)काे कावासोती नगरपालिका–१३ पीठौलीस्थित नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१२ गैरी बस्ने २१ वर्षीय बिशाल थनेत रहेका छन् । साेही नदीमा माछा मार्ने क्रममा डुबेर आइतबार दिउँसो उनकाे मृत्यु भएकाे हाे ।
यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका–१० नयाँगाउँस्थित एक जनाकाे डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय नवल सिंह रावल रहेका छन् । साेही ठाउँस्थित बनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर उनकाे आइतबार दिउँसो मृत्यु भएकाे हाे ।
सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–३ सिर्जनाटोल ठुलीममी पार्बती शाहीको घरमा बस्ने एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका–८ घर भएका प्रकाश शाहीकी छोरी १० वर्षीया बिनिता शाही रहेकी छिन् । उनको सोही ठाउँस्थित कुँवामा डुबेर आइतबार राति मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।