काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा प्र.२–०३–०१८ प ९०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा बहुदधुरामाई नगरपालिका–९ बिश्रामपुर बस्ने २३ वर्षीय बिजय शर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी बाराकै जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियामा ना.१ ज ५०३१ नम्बरको सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–७ बिसौलिया बस्ने २८
वर्षीय लाल मुखिया रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै बागलुङको बडिगाड गाउँपालिका–७ स्थित सडकमा कच्ची सडक खण्ड खन्न प्रयोग भएको जेसिबी डोजरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने भान बहादुर घर्तीको छोरा १४ वर्षीय सुनिल घर्ती रहेका छन् । डोजरको ठक्करबाट उनको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।