नवलपरासी (पूर्व) । अवैध रुपमा नक्कली नोटको कारेबार गरेकोमा एक जना पक्राउ परेका छन् । जिल्लाको मध्यबिन्दु नगरपालिका–८ फुलबारीबाट नक्कली जस्तो देखिने नेपाली १ हजार दरको ७ थान, ५ सय दरको २८ थान, १ सय दरको ५२ थान, ५० दरको ३४ थान, २० दरको ५ थान, १० दरको २ थान, अमेरिकी डलर ५० दरको २६ थान, भारतीय रुपैयाँ २ सय दरको ३ थान, १ सय दरको ४ थान र २० दरको १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३९ वर्षीय कर्मुल्लाह जोलाह महमद रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरी टोलीले लु.८२ प ३९९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त नक्कली जस्तो देखिने नोटसहित मंगलबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।